जाजरकोट-जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन् । दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने उनका छोराको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, टमटाको टाउको र ढाडमा चोट लागेको छ ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी पुरीले बताए ।
दुर्घटनाको खबर प्राप्त भएपछि बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनास्थल प्रहरी चौकी जुनीचाँदेबाट करिब सात किलोमिटर पूर्व–उत्तरमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया