अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अपानी : यस्ता छन् मिसन ग्रासरुटले देखेका समस्या र चुनौती

एमाले अपानी : यस्ता छन् मिसन ग्रासरुटले देखेका समस्या र चुनौती


काठमाडौँ । नेकपा एमालेले पार्टीभित्रका चुनौती र समस्याको पहिचान गरेको छ । पार्टीले गत २०७९ फागुन ५ देखि २०८० वैशाख ९ गतेसम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) मार्फत पार्टीका समस्या र चुनौतीहरूको पहिचान गरेको हो ।

दुई महिने ‘मिसन ग्रासरुट’ अभियानमा एमाले नेताहरू फागुनदेखि वैशाखसम्म वडा तहसम्म पुगेर समस्या र चुनौती पहिचान गरेका हुन् । स्थानीय तह। संघीय र प्रदेश निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । एमालेले ‘मिसनग्रास रुट’ अभियानका लागि ७ उद्देश्य तय गर्दै सबै पालिकाहरूमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई १२ वटा कार्यादेश दिएको थियो ।

एमालेले जारी गरेको अपानीमा उल्लेख भएअनुसार केन्द्रीय सचिवको नेतृत्वमा प्रत्येक प्रदेशमा टोलदेखि प्रदेशसम्म पुगेर गरिएका रिपोर्टका आधारमा पार्टीभित्रका बढेका समस्या र चुनौती पहिचान गरिएको हो ।  अपानी–७ मा पार्टीभित्र देखिएका समस्या र सम्बोधनका उपायहरू समावेश छन् ।

पहिलो चरणको ‘मिसन ग्रासरुट’ अभियानबाट उत्साहित एमालेले पार्टी र नेता कार्यकर्तालाई चलायमान बनाउन सहयोग पुगेको निष्कर्ष समेत निकालेको छ । यस्तै एमालेले सोही प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिने अपानीमा उल्लेख गरेको छ ।   त्यसैले एमालेले सबै केन्द्रीय नेताहरूको जिम्मेवारीमा समेत हेरफेर गरेर पार्टीलाई आगामी निर्वाचनमा फिप्टीवान प्लसमा पुर्‍याउने उद्देश्य राखेको छ ।

सैद्धान्तिक र वैचारिक क्षेत्रमा समस्या

एमालेले पहिचान गरेको पहिलो समस्या सैद्धान्तिक र वैचारिक समस्या हो । जसअन्तर्गत पार्टी नेता कार्यकर्ताहरूमा विचारधारात्मक काममा कमी देखिएको  छ भने कतिपय नेता÷कार्यकर्ताहरूमा पार्टीका विचार र सिद्धान्तमा चासो नरहेको पाइएको छ । यस्तै पार्टी प्रशिक्षणहरू यथोचित नभएको र पार्टीपङ्क्तिमा संगठनात्मक अराजकता बढेको अपानीमा उल्लेख छ । 

संगठनिक क्षेत्रमा 

एमालेले पार्टीभित्र सांगठानिक समस्या रहेको निष्कर्ष निकालेको छ । साङ्गठानिक क्षेत्रमा नयाँ सदस्यता वितरण, नवीकरण, लेबी सङ्कलन, भेला प्रशिक्षणजस्ता कामहरूमा शिथिलता आएको एमालेले उल्लेख गरेको छ ।  

यस्तै सदस्यताको महत्त्व बुझ्ने बुझाउने कुरामा कमी, पार्टी सदस्यताको फारम भरेको लामो समयसम्म पनि त्यससम्बन्धी प्रक्रिया पुरा नहुने, सदस्यता कार्ड प्राप्त नहुनेजस्ता कारणले नयाँ फाराम भर्नेहरूमा उत्साह नदेखिएको एमालेले जनाएको छ । 

प्रवृत्तिगत समस्या

एमालेले पहिचान गरेको अर्को समस्या हो प्रवृत्तिगत समस्या । जसमा एमालेले कतिपय नेता कार्यकर्ताहरूमा रुखो व्यवहार देखाउने प्रवृत्तिगत समस्या रहेको उल्लेख गरेको छ । यस्तै पार्टीभित्र देखा पर्न सक्ने अन्तर्विरोधको समाधानमा समुचित ध्यान नपुगेको र जनसङ्गठनहरुलाई सङ्गठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमी पनि कमी रहेको एमालेले जनाएको छ ।

‘दक्षिणपन्थी अवसरवाद, सङ्कीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको सङ्घर्ष आवश्यक मात्रामा सशक्त बन्न नसकेको, विचार, शैली र आचरणमा जनमुखी परिवर्तन गर्न पर्याप्त काम हुन नसकेको’, एमालेले उल्लेख गरेको छ ।  

अन्य समस्या

एमालेले अन्य समस्यामा सामाजिक सत्तामा पार्टीको वर्चस्व कायम हुन नसकेको, जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता नदेखिएको, कतिपय सदस्यहरूले आफ्नो विज्ञता र क्षमताअनुरूप उपयुक्त जिम्मेवारी नपाएको, निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको, सामान्य कार्यकर्ताले धान्नै नसक्ने स्थिति बनेको र अधिकांश उम्मेदवारहरू ऋणमा रहेको उल्लेख गरेको छ ।  

एमालेले मिसन ग्रासरुट अभियानमा केन्द्रीय जिम्मेवारी पाएका केही नेताहरूले तोकिएका जिम्मेवारी र काम पूर्णरुपमा सम्पन्न गर्न नगरेको समेत पाइएको जनाएको छ । 

निर्वाचन र उम्मेदवारी

एमालेले कतिपय कमिटीको नेतृत्वमा कमिटी परिचालन, जनसम्पर्क विस्तार, समन्वय सीपको अभाव रहेको उल्लेख गरेको छ । ‘सम्भावनायुक्त नेताहरूको खोजी (लिडरसीप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान नपुगेको, भूगोलका पार्टी कमिटी र सम्पर्क, विशेष प्रदेश या जनसङ्गठनको कामको क्षेत्रबीच  समुचित समन्वयको अभाव देखापरेको, महिला, दलित, जनजाति, मधेसी, दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्तिलगायतलाई नेतृत्वमा विकास गर्न समुचित ध्यान पुर्‍याउन नसकिएको’, एमालेले उल्लेख गरेको छ ।  

जनता, जनप्रतिनिधि र पार्टी कमिटी तथा पार्टी नेताहरुबीच अन्तरसम्बन्ध

एमालेले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध कमजोर रहेका ठहर गरेको छ ।