अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा बजेट पास हुन दिँदैनौं: माधव नेपाल

सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा बजेट पास हुन दिँदैनौं: माधव नेपाल


काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको बजेट यथास्थितीमा पास हुन नसक्ने बताउनु भएको छ।

शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताउनु भएको हो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छाैँ। अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन। हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।’

अध्यक्ष नेपालले बजेटलाई डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रिकृत गरेको आरोप पनि लगाउनु भयो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो। अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा। यसरी बजेट विनियोजन भएको छ। आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन। १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजको जनता २०४८ सालको जनता होइन। अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ। सरकार छोड्न परे परोस्, यो अन्याय सहनु हुँदैन।’

डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो भने गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो। यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोटबाट समानुपातिक सांसद हुन्।