अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले राँगासँग नदी साट्नुभयाे: अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डले राँगासँग नदी साट्नुभयाे: अध्यक्ष ओली


स्याङ्जा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितकाे पक्षमा काम गर्न नसकेकाे बताउनुभएकाे छ।

शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा १५ वटा मुर्रा राँगासँग नदी साटेकाे बताउनुभयाे। उहाँले नेपाल आफैंले बनाउने भनेका जविद्युत आयाेजना प्रचण्डले भारतलाई सुम्पिएकाे भन्दै आपत्ति जनाउनुभयाे।

नेपालका खाेलानाला बगेर गएकाले सदुपयाेग गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले सदुपयाेगका नाममा प्रधानमन्त्री प्रचण्डले जस्ताे काम गर्न नहुने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘सदुपयाेग गर्ने नाममा प्रधानमन्त्रीले गरेजस्ताे हाम्री आमा कति बाठी राँगासँग नदी साटी, प्रधानमन्त्रीले भारतबाट १५ वटा राँगा ल्याए, दुईवटा खाेला यति सस्ताेमा बुझाए।’

अध्यक्ष ओलीले २०७६ सालमा आफूले ४८० मेगावट क्षमताकाे फुकोट कर्णाली जलविद्युत आयाेजना नेपालले नै बनाउनुपर्ने र त्यहाँका जनतालाई  सेयर दिने निर्णय गरेकाे स्मरण गराउनुभयाे । उहाँले भन्नुभयो, ‘त्याे हामीले बनाउन सक्ने आयाेजना किन दिनुपर्‍याे अर्काे देशलाई, प्रधानमन्त्री थमाइपाउँ भनेर १०८ किलाे रुद्राक्ष डाेकाेमा बाेकेर जानुभएकाे थियाे, पूजा गर्नुभएकाे थियाे, खाेला किन बुझाएकाे ? यस्ताे पाराले देशकाे विकास हुँदैन, जलस्राेतकाे सदुपयाेग हुँदैन। ‘

अध्यक्ष ओलीले देशकाे हितकाे पक्षमा नेपाली कांग्रेस पनि बाेल्न नसकेकाे बताउनुभयाे। यसपल्ट कांग्रेस ८७ सिट ल्याए पनि आगामी चुनावमा त्यति सिट नल्याउने उहाँले बताउनुभयाे । कांग्रेसप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘माैरीकाे संगत गरेर साथसाथै उड्नुभयाे भने फूलबारीमा पुग्नुहुन्छ, झिंगाकाे साथ लागेर पछिपछि जानुभयाे भने रसालमा पुग्नुहुन्छ, मैले कसैलाई भन्या हाेइन फेरि, विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा या सन्दर्भवस कसैकाे नाम थर र ठेगाना मिल्न गएमा संयाेग मात्र हुनेछ।’

एमालेले सरकार छाडेपछि दुई वर्षमा देशकाे अर्थतन्त्र ध्वस्त भएकाे अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब देशका लागि विचार गर्ने बेला भएकाे छ, देश दुई वर्षमा ओरालाे लागेकाे छ ।’ देश र जनताप्रति निष्ठाकासाथ एमाले अगाडि बढेकाे उहाँले बताउनुभयाे ।

एमालेले कैयाैं पुल बनाएकाे, बाटाे बनाएकाे, हुलाकी राजमार्ग र मदनभण्डारी राजमार्ग बनाएकाे, पुरानाे पूर्वपश्चिम राजमार्ग चाैडा गर्ने, पूर्वपश्चिम रेलमार्ग बनाइँदै गरेकाे, जनकपुरमा रेल ल्याएर कुदाएकाे, कृषिकाे आधुनिकीकरण, ३७६ अस्पताल एकै दिन शिलान्यास गर्ने काम गरेकाे बताउनुभयाे ।

एमालेकै नेतृत्वकाे सरकार रहेका बेला देश विकास भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । देश बनाउने र नबनाउने पार्टी छुट्याउनुपर्ने भन्दै उहाँले देश बनाउने काममा सबै इमान्दारीतासाथ जुट्नुपर्ने बताउनुभयाे । दलीय व्यवस्था भएपनि राम्राेलाई राम्राे र नराम्राेलाई नराम्राे भन्नुपर्ने तथा झुटाे बाेल्न नहुने अध्यक्ष ओलीले बताउनुभयाे ।