अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिचानकाे नाममा चलाइएकाे हिंसा-आतंक गलत हाे भनेर प्रचण्ड र देउवाले भन्नुपर्छ: अध्यक्ष ओली

पहिचानकाे नाममा चलाइएकाे हिंसा-आतंक गलत हाे भनेर प्रचण्ड र देउवाले भन्नुपर्छ: अध्यक्ष ओली


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पहिचानका नाममा हिंसा र आतंक मच्चाउने काम भइरहेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ।

शुक्रबार स्याङ्जाकाे कालीगण्डकी गाउँपालिकाकाे प्रशासकीय भवन उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘केही तत्वहरुले अहिले उपद्राे मच्याइरहेका छन् । विभिन्न नाममा हिंसा, आतंक, उपद्र मच्चाउने, हत्या, आतंक सृजना गर्ने काम ठीक होइन भनेर एमाले बाहेक अरु काेही बाेल्न सक्दैन ।’

काेशी प्रदेशमा भइरहेकाे आन्दाेलनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले पहिचानका नाममा भइरहेकाे आतंक गलत हाे भनेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कांग्रेस सभापति शेरबहादुरजीलाई भन्छु अहिले पहिचानका नाममा विभिन्न किसिमले साम्प्रदायिकता जुन चलाइएकाे छ, हिंसा जुन चलाइएकाे छ, त्याे गलत हाे भनेर शेरबहादुरजीले भन्नुपर्‍याे, प्रचण्डजीले पनि भन्नुपर्‍याे अरुले पनि भन्नुपर्‍याे, त्यति पनि भन्न नसक्ने ?’

उहाँले नेपाल शान्तिभूमि भए पनि बीचमा एकपल्ट देशलाई ज्वराे आएकाे र हिंसाकाे उन्माद चलाउने काम भएकाे बताउनुभयाे। अध्यक्ष ओलीले जनयुद्धकाे धङधङी बाँकी रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जनतालाई चाहिएकाे थिएन हिंसा र अशान्ति, तर चल्याे, त्याे अब शान्त भयाे, अलिकति धङधङीहरु बाँकी छन्, त्यसलाई हामीले शान्तिमा ल्याउन सक्छाैं।’

विगतमा देखिएका विद्वेष, घृणा र पहिचानकाे राजनीतिकाे नाममा एकअर्कालाई घृणा गर्ने परिपार्टीलाई अन्त्य गर्दै अगाडि बढिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जसबाट जनताले एकअर्कालाई घ‍ृणा गर्ने, त्याे घृणा लडाइँ झगडामा परिणत गराउने र त्याे झगडा युद्धमा परिणत गराउने, विकास छाेड्नुस्, पुल बाटा भत्काएर पहिचान भनेर हामी अगाडि बढ्न सक्दैनथ्याैं, आज हामी त्यस स्थितिबाट अगाडि बढेका छाैं ।’

अहिले पनि पहिचानकाे नाममा केही खालका तत्वहरु यसमा सक्रिय भइरहेका भन्दै अध्यक्ष ओलीले तिनीहरुलाई राेक्नुपर्ने बताउनुभयाे ।

एमालेले देश र जनतालाई शीरमा राखेर काम गर्ने भन्दै उहाँले देशकाे हित र उखान टुक्काकाे फरक बुझ्न नसक्नेहरुले, विकास र उखानटुक्का बुझ्न नकस्नेहरुले आफ्नाे आलाेचना गर्ने गरेका बताउनुभयाे।

जहाँ टेक्याे त्यही पहिराे जाने काे छ मेराे कटक्क मन खाने गीत सुनाउँदै उहाँले भन्नुभयाे, ‘यसकाे अर्थ जहाँ टेक्याे त्यहीँ टेकेकै ठाउँमा पहिराे जाने हाे र ? हाेइन, त्याे एमाले बाहेक अरुले बुझ्दैन ।’ नेपाल कला संगितकाे देश भएकाे भन्दै उहाँले इसारा र अलंकारमा कुरा हुने बताउनुभयाे । नेपालमा जस्ता कवि दुनियाँमा काेही नभएका समेत उहाँले बताउनुभयाे । कालीगण्डकी क्षेत्र पवित्र तपाेभूमि भएकाे बताउँदै उहाँले भन्नुभयाे, ‘यहाँ त ढुंगा पनि शालिग्राम हुन्छ ।’