अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश र जनताको पक्षमा गठबन्धन सरकारले काम गर्न सकेन: प्रदिप ज्ञवाली

देश र जनताको पक्षमा गठबन्धन सरकारले काम गर्न सकेन: प्रदिप ज्ञवाली


धनकुटा-नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ।

एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

एमाले नेतृत्वमा यसअघि बनेको जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशलाई गलत दिशामा लगेको उहाँले आरोप लगाउनुभयो। संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै मुलुक गलत दिशामा गएको उहाँले बताउनु भयो ।

वर्तमान गठबन्धन सरकारको असक्षमताले देश आर्थिक संकटमा फँसेको पनि उहाँले आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले निरास हुँदैगएका छन्, त्यसप्रति सरकारले ध्यान दिन सकेको छैन ।’

गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानूनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको उहाँले टिप्पणी गर्नुभयो। कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूमाथि आक्रमण भइरहेको उहाँले दावी गर्नुभयो। 

पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा आइतवारसम्म चल्ने प्रशिक्षणमा नेता ज्ञवालीसहित एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने, गुरु बराल लगायत नेताहरूले प्रशिक्षण दिने एमाले धनकुटाका स्कुल विभाग प्रमुख मनोज राईले जानकारी दिनुभयो। प्रशिक्षण कार्यक्रममा एमाले धनकुटा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र जनवर्गीय सङ्गठनका प्रमुखहरूको सहभागिता छ।