काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताउनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उहाँले बताउनु भयो ।
काठमाडौंमा शनिबार आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उहाँले सो कुरा बताउनुभएको हो। सरकारले देशको हितमा केन्द्रित भएर काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । सरकारले फुकोट-कर्णाली जलविद्युत आयोजना निर्माण कार्य गर्न भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको पनि उहाँले आरोप लगाउनुभयो। वर्तमान सरकारसँग विकासको खाका र योजना नरहेको पनि उहाँले टिप्पणी गर्नुभयो।
वर्तमान सरकारबाट मुलुकको विकास सम्भव नरहेको भन्दै उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिएर सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो। देशको विकास र आर्थिक समृद्धिको खाका एमालेसँग मात्र रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशलाई नै अहिले ग्रहण लागेजस्तो भएको छ। विकास र आर्थिक समृद्धिको काम ठप्प छ। उत्पादन वृद्धिदर २ प्रतिशत पनि नपुग्ने अवस्थामा छ ।’
आफ्नो नेतृत्वको सरकार रहेका बेला उत्पादन वृद्धिदर ७ दशमलव १ प्रतिशत पुगाएको उहाँले चर्चा गर्नुभयो। अहिले झरेर त्यो २ भन्दा तल झरिसकेको उहाँले बताउनुभयो । ‘मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ। नदीबाट ४८० मेघावाट विद्युत निकाल्न सकिन्छ। र, त्यो आयोजना नेपाल आफैले बनाउँछ मैले निर्णय गराएको थिएँ । अहिले प्रधानमन्त्रीले किस्तीमा राखेर भारतलाई सुम्पेर आउनुभएको रहेछ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाललाई दशा लगाउने काम भइरहेको छ, समस्या समाधानभन्दा बल्झाउने काम भइरहेको छ ।’
देशको विकासको काम गर्न छाडेर सत्ता पक्षले एमालेलाई घेराबन्दीमा राख्ने काम गरिरहेको उहाँको आरोप छ। एमालेलाई कहीँकतै कसैले कुनै हिसाबले पनि कमजोर पार्न नसक्ने उहाँले जिकिर गर्नुभयो। ‘पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले जस्ताकोतस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ’ उहाँले भन्नुभयो। कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।




प्रतिक्रिया