अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी: जुनकिरीको ‘पिँध’ले स्वर्ग उज्यालो हुँदैन

बजेटबारे गोकर्ण बिष्टको टिप्पणी: जुनकिरीको ‘पिँध’ले स्वर्ग उज्यालो हुँदैन


काठमाडौं-नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरुको जिल्लामा केन्द्रित भएको आरोप लगाउनुभएको छ।

सचिव बिष्टले उहाँले सरकारले प्रश्ततु गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी गर्नुभएको हो ।

आइतबार उहाँले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले बजेट औपचारिकतामा मात्रै सिमित भएको बताउनु भयो ।

सचिव बिष्टले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताउनु भयो।  उहाँले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको बताउनु भयो।

उहाँले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतिलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गर्नुभयो ।

उहाँले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताउनु भयो ।

उहाँले विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रुपमा विनियोजन हुन नसकेको बताउनु भयो। सचिव बिष्टले न्याय स्थापित गर्नेगरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री,प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताउनु भयो।

उहाँले सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै प्रश्न गर्नुभयो। सचिव विष्टले बजेटलाई सरकारले परिमार्जन गर्नुपर्ने बताउनु भयो। उहाँले बजेट निर्माणमा कहाँ चुक्यौँ भनेर सरकारले समिक्षा गर्नुपर्ने बताउनु भयो।

उहाँले राज्यको भूमिका झनै कमजोर बनिरहेको भन्दै सरकारले मुलुकको विशेषतामा आधारित अर्थनीति अपनाउनु पर्ने अवस्था आएको बताउनु भयो।