काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गर्नु भएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो।
अध्यक्ष लिङदेनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताउनु भयो।
उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेको बताउनु भयो।
उहाँले कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो। त्यो भन्दा खुसी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो । यो अन्तर हृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन।’
अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताउनु भयो । उहाँले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताएउनु भयो।
‘नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो। अन्तर हृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ’ लिङ्देनले भन्नुभयो, ‘अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँछ, त्यसबेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ।’






प्रतिक्रिया