अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

औसतमा मनसुन सुरु हुने दिन आज : नेपालमा कहिले प्रवेश गर्छ ?

औसतमा मनसुन सुरु हुने दिन आज : नेपालमा कहिले प्रवेश गर्छ ?


काठमाडौँ–यो वर्षको मनसुन नेपाल नजिक आइपुगेको छ । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । 

मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको बताइएको छ ।

एक दुई दिनमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

यसअघि मनसुन प्रवेशमा ढिलाइ हुने अनुमान गरिएको थियो । तर अरब सागरमा विकसित आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाको प्रभावले मनसुनको गति बढ्दा औसत समयको आसपासमै मनसुन नेपाल भित्रिने भएको हो ।  

मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । गण्डकी प्रदेशभन्दा पूर्वतर्फ रहेका सबैजसो वर्षा मापन केन्द्रहरुले पानी परेको देखाएका छन् । पछिल्लो १२ घण्टामा दोलखाको सिँगटीमा झण्डै ६० मिलिमिटर वर्षा भएको छ । यस्तै, काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

पश्चिमको डडेलधुरामा पनि वर्षा भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन । 

यस्तै आज  कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना कायमै रहेको र बाँकी भूभागमा मौसम बदली र वर्षासँगै गर्मी कम हुँदै जाने महाशाखाले जनाएको छ ।