अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क


काठमाडौं-सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ।

यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ।

मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिनेछ। विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरिएको हो। 

अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१२ हुनुपर्नेछ। यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि कम्तीमा सवारीको अगाडि र पछाडि साउण्ड सिस्टम ९स्पिकर०को सुविधा हुनुपर्नेछ। 

डिलक्स ट्याक्सी न्यूनतम एक हजार दुई सय सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१९ हुनुपर्नेछ। यस्ता ट्याक्सीमा साउण्ड सिस्टम (स्पिकर), टच स्क्रीनसहितको कम्तीमा एक वटा डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झयाल, स्वचालित वातानुकुलन प्रणाली, पछाडि रिडिङ ल्याम्पको सुविधा हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ।

मस्यौदाअनुसार लक्जरी ट्याक्सीको हकमा न्यूनतम दुई हजार सिसी क्षमता वा सोभन्दा माथिको इञ्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०२५ हुनुपर्नेछ । यस वर्गका ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अघिपछि साउण्ड सिस्टम (स्पिकर), सवारीको पछाडिको सिट पंक्तिका लागि कम्तीमा दुई वटा ‘टच स्क्रीन’सहितको डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल र हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रणको सुविधा हुनुपर्नेछ । साथै वाइफाइ इन्टरनेटको सुविधा, ट्याक्सीको अगाडि र पछाडिका लागि ‘हेड रेष्ट’, ‘कप होल्डर’, ‘रिडिङ् ल्याम्प’,  ‘मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्न लागि डिसी वा एसी पावर आउटलेटलगायतका सुविधा उपलब्ध हुनुपर्नेछ।  

वर्गीकरण गरिएका ट्याक्सीले वर्ग खुल्ने गरी सवारी सङ्केत चिन्ह अनिर्वाय राख्नपर्नेछ। प्रत्येक ट्याक्सीले वर्ग खुल्ने गरी अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ तथा बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँ तर्फको कुनामा अर्डिनरीले ‘ओ’, डिलक्सले ‘डि’ र लक्जरीले ‘एल’ चिन्ह टाँस्नुपर्नेछ। साथै ट्याक्सीहरुले छतमा बत्ती राख्नुपर्नेछ। मस्यौदाअनुसार ट्याक्सी खाली हुँदा हरियो, सवारी खाली नहुँदा रातो र सवारी सेवामा नहुँदा ‘ह्वेन अफ ड्युटी’ बल्ने सेतो सङ्केत बत्ती बाल्नुपर्नेछ। साथै प्रत्येक ट्याक्सीले प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जिपिएस नेभिगेसन प्रणाली पनि जडान गर्नुपर्नेछ।  

शूल्क पनि फरक
विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडा दर समेत प्रस्ताव गरेको छ। जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुनेछ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुनेछ। साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ।

Skip This