अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित

लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित


काठमाडौं-लम्पी स्किन रोगले सुदुरपश्चिम र कर्णाली प्रदेशका पशु बढी प्रभावित भएका छन्। यद्यपी गाईवस्तुमा लाग्ने यो रोग देशभर फैलिएको छ।

विसं २०७७ असारमा मोरङ जिल्लाबाट फैलिएको पशुमा लाग्ने लम्पी स्किन रोग हालसम्म देशभरि फैलिएको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो ।

पशु सेवा विभागका अनुसार हालसम्म देशभर छ लाख ९० हजार छ सय ९७ सङ्क्रमित पशुमध्ये २५ हजार सात ८२ पशु मरेका छन् भने चार लाख १४ हजार तीन सय २८ पशु निको भएका छन् । त्यसैगरी दुई लाख ५० हजार पाँच सय ८७ पशु हालको समयमा सङ्क्रमित रहेका छन् ।

विभागका सूचना अधिकारी ढकालका अनुसार हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट धेरै पशु मरेका छन् भने धेरै पशु सङ्क्रमित अवस्थामा छन्। सुदूरपश्चिम प्रदेशमा जम्मा दुई लाख सात सय ९८ सङ्क्रमित पशुमध्ये १० हजार नौ सय ३९ पशु मरेका छन् भने एक लाख २० हजार चार सय ७९ पशु निको भएका छन् । त्यसैगरी हालको समयमा सुदूरपश्चिम प्रदेशमा ६९ हजार तीन सय ८० पशु सङ्क्रमित रहेका छन् ।

त्यसैगरी हालसम्म कर्णाली प्रदेशका एक लाख ८९ हजार १५ सङ्क्रमित पशुमध्ये छ हजार सात सय ४१ मरेका छन् भने एक लाख १३ हजार चार सय नौ पशु निको भएका छन् । ६८ हजार आठ सय ६५ पशु भने अझै सङ्क्रमित अवस्थामा छन् ।

हालसम्म कोशी प्रदेशमा तीन हजार छ सय १४, मधेस प्रदेशमा एक सय एक, बागमती प्रदेशमा आठ सय ६६, गण्डकी प्रदेशमा सात सय ४१, र लुम्बिनी प्रदेशमा दुई हजार सात सय ८० पशु मरेका छन् ।

देशभरि फैलिएको लम्पी स्किन रोगको न्यूनीकरणका लागि पशु सेवा विभाग निरन्तररूपमा लागिपरेको सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्म एक लाख ८० हजार नौ सय २२ पशुलाई खोप लगाइएको छ । किसानलाई लम्पी स्किन रोग नलागेको पशुलाई छिटो खोप लगाउन सूचना गरेका छौँ ।”

सूचना अधिकारी ढकालका अनुसार प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि सङ्घीय सशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले रकम विनियोजन गरिएको छ ।

लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्यालसिँगान बग्नेजस्ता लक्षण देखा पर्दछन् । सरुवा रोग भएको कारण सङ्क्रमित पशुलाई छुट्टै राख्न पशु सेवा विभागको किसानलाई सुझाव रहेको छ ।

Skip This