काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्ने गरी आउने बताउनु भएको छ।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताउनु भयो। उहाँले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरु छन्, उद्यमी व्यवसायीका पीर, मर्का, अफ्ठ्याराहरु एकै किसिमका नै हुनुपर्ने हो। त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो तर अहिले एकमुष्ट रुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ। मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौँ। यस हिसाबमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण पाइरहेका छौँ। संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौँ। यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन्। राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहन्छ। राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न सक्दैनौँ।’
गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण भइरहेको बताउनु भयो।






प्रतिक्रिया