अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ: सभामुख घिमिरे

समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताउनुभएको छ। संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उहाँले बताउनुभयो । 

न्युज एजेन्सी नेपालसँग आज कुरा गर्दै उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निर्वाह गरिरहेको बताउनुभयो। प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गरी संसद सुचारु गर्न आफूले आग्रह गरेको उहाँले बतउनुभयो ।

प्रमुख प्रतिपक्षी दल र प्रतिपक्ष दलका नेतालाई पनि सिधै राजीनामा माग्नुभन्दा वार्तामार्फत समस्या समाधानका लागि अग्रसर हुन आफूले सुझाएको उहाँले बताउनुभयो । वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको उहाँले चर्चा गर्नुभयो।

सभामुखको भुमिका संसदमा तटस्थ हुनुपर्नेमा आफू सचेत रहेको बताउँदै संसद झगडा गर्ने थलो बन्न नहुने उहाँको भनाइ छ । सभामुखको भूमिका सधैं तटस्थ र सन्तुलित हुनुपर्ने उहाँले बताउनुभयो। 

कुनै विषयलाई लिएर संसद बैठकमा कुरा उठेपछि त्यसको समाधान खोज्न आवश्यक रहेको बताउँदै सभामुख घिमिरेले आफ्नो भूमिका निश्पक्ष रहने प्रष्ट पार्नुभयो । दलका नेताहरुलाई समस्या समाधानका लागि नियमित आग्रह गरिरहेको उहाँले बताउनुभयो ।