अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन


काठमाडौं-सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीमा उहाँले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, “समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ।” आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारीरूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै उहाँले अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताउनुभयो। मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्यअनुसारको पूँजीगत खर्च बढाउनका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिनुभयो।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरूमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरूसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “पूँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पूँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक वर्षमा लक्ष्यअनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस्।” 

सहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा रु ३८ अर्ब ९५ करोड ७९ लाख चार हजार विनियोजन भएकामा ५९ प्रतिशत वित्तीय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यस आर्थिक वर्षमा विभागका लागि रु २९ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ। 

Skip This