काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्मको तीनदिने मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बिहीबार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
त्यस्तै, शुक्रबार कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। राति कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। उक्त दिन कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
शनिबार राति कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया