काठमाडौं-नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्न नसक्ने बताउनु भएको छ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गर्न नसक्ने बताउनु भएको हो ।
उहाँले उक्त प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनु भयो।
सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको उहाँले बताउनु भयो । उहाँले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो ।
‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो। अहिले उच्चस्तरीय आयोग गठन गर्न माग गरिरहेका छौँ। एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ ? गृहमन्त्रीलाई सीआईबीले झिकाउन सक्छ? राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ। क्विन्टलका क्विन्टल सुन आएको छ। ३२ पटक आएकोमा २२ पटक भनेको छ’, उहाँले भन्नुभयो, ‘यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ। हङकङ, चाइना लगायत देखिइरहेको छ। खेलाँची गरेर मजाक बनाइँदैछ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रिएको छ। सीआईबीले समाधान दिँदैन। त्यो सम्भव नै छैन। अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन।’
उहाँले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताउनु भयो ।




प्रतिक्रिया