अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको स्थितिले नाकाबन्दीको तनाव झेल्न सक्दैन: अध्यक्ष ओली

नेपालको स्थितिले नाकाबन्दीको तनाव झेल्न सक्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँग स्पष्ट रूपमा आफ्ना भनाई राख्नुपर्ने बताउनु भएको छ। 

शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले छिमेकी मुलुक भारत र चीनसँग आफ्ना समस्याहरू राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त कुरा गरेर आफ्ना कुरा राख्न सक्दैनौँ। आफ्ना जायज हितहरू बोल्न सक्दैनन्। त्यस्तो सत्ता र सरकारको के अर्थ भयो? कुरा गर्न सकिँदैन भने डेलिगेसन जानुको के अर्थ ? हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले समस्या समाधान गर्नुपर्छ।’

अध्यक्ष ओलीले भारतले पटक-पटक नाकाबन्दी गरे पनि नेपालले त्यस्तो तनाव झेल्न नसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हाम्रो देशले तनाव झेल्नै सक्दैन। हामीले एक पटक पनि भारत र चीनलाई नाकाबन्दी गरेका छौं र? एक पटक पनि गरेका छैनौं। तर, भारतले हामीलाई पटक-पटक नाकाबन्दी गरेको छ नि! त्यो अवस्था र स्थितिले गर्दो रहेछ नि। हाम्रो स्थिति नाकाबन्दी गर्नसक्ने रहेनछ। नाकाबन्दी नगर्न हामीले आग्रह गर्नुपर्छ। अन्तराष्ट्रिय कानुन बताउनुपर्छ। त्यस्तो कानुन नभए बनाउनुपर्छ। कानुन छैन भनेर न्याय छोड्न सकिँदैन। हाम्रो नीति कसैप्रति वैरभाव नराखी, अरूको कुभलो नचिताई, आफ्नो भलोमा अडिएर खुला संवाद गर्ने र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने हो। यो चिज गर्नुपर्छ। यो हुन सकिरहेको छैन। ज्यादै गम्भीर कुरा हो।’