अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार’ सार्वजनिक 

पत्रकार विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार’ सार्वजनिक 


काठमाडौं-पत्रकार एवं लेखक बाबुराम विश्वकर्माको पुस्तक ‘राजनीतिको भार: नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता डा. मिनेन्द्र  रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गर्नु भयो।

पुस्तकमा नेपालमा सत्ता र शक्तिका लागीमात्र राजनिति गरिरहेका पुरातनवादि नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदानको भुमरीमा फस्दै गएको बिषय उल्लेख गरिएको छ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार फेरिँदैपिच्छे नीति पनि फेरिने गरेको त होइन ? भन्दै प्रश्न गर्नु भयो। उहाँले भन्नुभयो, ‘हाम्रो कूटनीति सन्तुलनमा छैन, कोल्टे पल्टिएकै छ। दुवै छिमेक उन्नत भइरहने, हामी चाहिँ जहाँको त्यहीँ भइरहने कस्तो कूटनीति ?’ पहिले नै अध्यावधि गर्नुपर्ने हाम्रो भूराजनीति र परराष्ट्र नीति अहिले पनि परम्परागत रुपमा चलेको उहाँको भनाइ छ।

‘परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्छ तर, हाम्रो नीति दलबाट प्रेरित त छैन?’ प्रश्न गर्दै श्रेष्ठले तर्क गर्नुभयो, ‘हाम्रो भू स्थिर भयो तर, राजनीति अस्थिर। भूगोलले जितेको छ, राजनीतिले हार्‍यो।’ 

नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन पुस्तक प्रभावकारी रहेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठ बताउनु भयो। उहाँले भन्नुभयो, ‘आन्तरिक सम्बन्ध सबल नभएसम्म बाह्य सम्बन्ध सुदृढ हुन सक्दैन। मुलुक सधैं दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल बन्न सक्ने र विदेशी चलखेल बढ्न सक्छ।’

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र  रिजालले झुटा राष्ट्रवादको बिल्लाले कहीँ नपुर्‍याउने बताउँदै अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनैपर्ने धारणा राख्नु भयो। उहाँले भन्नुभयो, ‘आज दक्षिणतिर फर्केर सक्दो गाली गर्ने, भोलि उत्तरतिर फर्केर सक्दो गाली गर्ने राजनीतिले हामीलाई कहीँ पुर्‍याउँदैन।’

परराष्ट्र विज्ञ अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहिन रुपमा वर्णन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा घटना र अर्को घटनाबीच सम्बन्ध छ। सामान्य पाठकलाई पनि पढ्न सजिलो छ।’ नेपाल विस्तारै चीनको पकडमा गइरहेको अवस्थामा पुस्तक चीनकेन्द्रित रहेको उहाँले बताउनु भयो।

पत्रकार अर्यालले नेपालको राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको बताउनु भयो। उहाँले भन्नभयो, ‘चीन विश्वशक्तिमा उदाएको छ, अमेरिका जहाँसुकै उपस्थित हुन चाहन्छ। विश्वको बदलिँदो परिस्थितिका बीच पुस्तक उपयोगी छ। जटिल विषयलाई पनि लेखकले सम्प्रेष्य बनाएका छन् ।’ नयाँ विश्व परिस्थितिमा भूराजनीति सबैले बुझ्नुपर्ने भन्दै उहाँले पुस्तकले विमर्शको बाटो खोलेको बताउनु भयो।

लेखक विश्वकर्माले तीन वर्षअघि सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेकै परिणाम यो पुस्तक आएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘पत्रकारिता गर्दा जसरी निष्पक्ष भएर सबै पाठकको प्रिय बन्न सकेँ, किताब पनि त्यसरी नै तयार पारेको छु। कुनै देशप्रति पक्षपोषण नगरी प्रमाणसहित देशलाई सबैभन्दा माथि राखेर यो पुस्तक तयार पारेको छु।’

भूराजनीतिको भार नेपालमा शक्ति–राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको अलोचनात्मक शोध–खोज रहेको लेखक विश्वकर्माले बताउनु भयो । नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदान बन्दै गएको बताउनु भयो । सरकार बदलिए पनि विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनु नहुने र गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी रहेको लेखक विश्वकर्माको बुझाइ रहेको छ।

विश्वकर्माको पुस्तक भूराजनीतिको भारमा मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुनुपर्ने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ।

दुई दशकभन्दा लामो समय खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो । उहाँको पहिलो कृति ‘दलित र द्वन्द्व’ २०६३ सालमा प्रकाशित भएको थियो । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार र रोटरी जर्नो अवार्डबाट पुरस्कृत विश्वकर्मा सार्वजनिक सरोकारका सवालमा निर्भीक कलम चलाउदै आउनु भएको छ।

१३ अध्यायमा समेटिएको पुस्तक एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डो-प्यासिफिकलगायत सीमा विवाद र गोप्य प्रतिवेदनमा केन्द्रित छ। सो पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो।

Skip This