अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी मुख्यमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा

कोशी मुख्यमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा


काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय भएको हो। 

मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो। 

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिनु भयो ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

न्यायाधीशद्वयले आइतबार सुनुवाइ सकिसकेपछि यो रिटलाई पूर्णइजलासबाट टुंग्याउने निर्णय लिएका हुन्। पूर्ण इजालसमा दुईभन्दा धेरै न्यायाधीश रहने गर्छन्। 

यसअघि भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएको थिएन। त्यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो।

खतिवडाले विश्वाको मत लिएको प्रक्रिया नमिलेको बताउनु भएको थियो । कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल उहाँले झिकाउनु भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिनु भएको थियो । उहाँलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिनु भएको थियो।

यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिनु भएको हो। उहाँले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।