स्याङ्जा-स्याङ्जाको भिरकोट नगरपालिका-३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो।
देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने गरिएको छ। यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुङ्गा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो।
यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित ढुङ्गाको माथिबाट सबैले गाग्रीमा पानी लगी तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उहाँले बताउनुभयो।
“परापूर्वकालमा यस ढुङ्गाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किंवदन्ती रहेको छ।” यस ठाउँमा हिन्दू धर्मावलम्बीले देवी र शिवलिङ्गका रुपमा तथा बौद्धमार्गीले आफ्नै विधिअनुसार पूजा आरधना गर्दै आएका छन्।
धार्मिक महत्वसँगै यो ठाउँ पर्यटकीय दृष्टीले पनि प्रचुर सम्भावना बोकेकाले यहाँ पूर्वाधार निर्माण थालिएको वडाध्यक्ष केशबहादुर खड्काले बताउनुभयो। “यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकारुपमा मानेर पूजाआजा हुने गरेको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्व सँगसँगै यहाँ अध्ययन, अवलोकन तथा वनभोज खानका लागि पनि मानिस आउन थालेका छन्।”
अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष खड्काले बताउनुभयो। उहाँका अनुसार यहाँ आउने पर्यटकलाई लक्षित गरी प्रतिक्षालय, कुर्सी, सिँढी निर्माण, खानेपानीको व्यवस्थापन गरिएको छ। वडा कार्यालयबाट थप संरचना निर्माणका लागि चालू आर्थिक वर्षका लागि रू तीन लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो।
पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनालाई संरक्षण गर्ने र प्रचारप्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो। “नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्व बोकेका स्थलका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय पाठ्यक्रमको प्रभावकै कारण पनि पालिका भित्रका विभिन्न ठाउँमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ।”
भिरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ । समुद्रसतहदेखि एक हजार पाँच सय फिटको उचाइमा यो ठाउँ रहेको छ। अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला मनमोहक देखिन्छन्।
स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँ यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने देखिएको वडाध्यक्ष खड्काले बताउनुभयो। उहाँका अनुसार उक्त ढुङ्गाको गोलाई करिब २५ मिटर र उचाइ करिब १५ मिटर छ।






प्रतिक्रिया