अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण एशियामा गरीबी निवारण परियोजना ल्याउन चिनियाँ नेताहरूलाई एमाले महासचिवको आग्रह

दक्षिण एशियामा गरीबी निवारण परियोजना ल्याउन चिनियाँ नेताहरूलाई एमाले महासचिवको आग्रह


बेइजिङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्तिका लागि दक्षिण एसियामा गरीबी निवारण अभियान थाल्न सुझाव दिनु भएको छ।

विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै उहाँले त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिनु भयो।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरुले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गर्नु भयो।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको बताउँदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह पनि गर्नु भयो।

महासचिव पोखरेलले चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनामा सफलतापूर्वक अघि बढेको देख्दा खुशी लागेको बताउनु भयो। 

उहाँले भन्नुभय,’महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ।’ 

एमालेले पनि माक्र्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिँँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेको अभ्यासको आदानप्रदानमा जोड दिनु भयो। ‘दुवै पार्टीका अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ’, उहाँले भन्नुभयो, ‘त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाइ लिनेछ।’

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको पोखरेलले जानकारी दिनु भयो। उहाँले आगामी २०८४ सालमा एमालेलाई बहुमतसहितको पार्टी बनाउने गरी काम गरिरहेको बताउनु भयो।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङसिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताउनु भयो ।

उहाँले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताउनु भयो। ‘महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ’, उहाँले भन्नभयो, ‘त्यसको अनुभूति तपाईंहरुले गर्नुभयो भन्ने हाम्रो विश्वास छ।’

नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रुपमा एमालेलाई पाएकोसमेत बताए। उनले दुई पार्टीबीचको अनुभव र विचार नियमित रुपमा आदनप्रदानमा जोड दिनु भयो।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय भ्रमण दल बिहीबार साझ छोङछिङबाट बेइजिङ पुगेको हो।