अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन्: अध्यक्ष ओली

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन्: अध्यक्ष ओली


भक्तपुर-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील रहेको बताउनु भएको छ।

तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनु भयो ।

जात-जात, वडा-वडा, पालिका-पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै जातका, सबै थरका, बाटो वारीका, बाटो पारीका, खोला वारीका, खोला पारीका, डिल वारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान्। यसमा पीर गर्नेहरू पनि छन अहिले। र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरू पनि छन्।’

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराउनु भयो । 

तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘दशैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो। दशैंमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ। आर्शिवाद लिनै पर्छ। त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरू दशैँमा।’

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउनु भयो।

‘चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन्। किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो। सामाजिक निकटता कायम गर्नु हो। सबै मिलेर रमाउनु हो,’ ओलीले भन्नुभयो, ‘साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुशीयाली, साझा उत्सव त्यो मनाउनु हो। हामी त्यसैगरी आज मनाउँदैछौं।’