काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा २०८० सालको तीज विशेष तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।
हरितालिका तीज यही भदौ २९ गते शुक्रबार क्रिस्टल पार्टीप्यालेस, बिजुलीबजार काठमाडौंमा सांस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गर्न लागेको हो।
गत वर्ष झैं यसवर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा उदयपुरबाट काठमाडौंमा आई बसोबास गर्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै मनोरञ्जन गराउन तीज तथा जितीया पर्व कार्यक्रम आयोजना गरिएको एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।
मञ्चका अध्यक्ष चौधरी भन्नुभयो, ‘नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज कार्यक्रम काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा भव्य रूपमा गर्न गइरहेका छौं। सो तीज कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसको साथसाथै जितीया पर्व पनि सोही दिन मनाउन गइरहेको सम्पूर्ण दिदीबहिनी तथा एमाले शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई जानकारी गराउँदछु।’
उदयपुर जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्ने सम्पूर्ण दिदीबहिनीहरुलाई मनोरञ्जन गराउनका निम्ति २०८० सालको तीज विशेष कार्यक्रम यही भदौ २९ गते शुक्रबार क्रिस्टल पार्टीप्यालेस, बिजुलीबजार काठमाडौंमा गर्न गइरहेको नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका सचिव रीता थापाले बताउनुभयो। तीज कार्यक्रम दिउसो १ बजेदिख सुरु गर्ने तयारी गरिएको सचिव थापाले बताउनुभयो।

सचिव थापाले भन्नुभयो, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्कको मञ्च महिला विभागद्वारा आयोजित तीज विशेष कार्यक्रम भदौ २९ गते शुक्रबार बिलुलीबजारस्थित क्रिस्टल पार्टीप्यालेसमा शुक्रबारमा दिन दिउसो १ बजे बृहत् सांस्कृतिक कार्यकमका साथ दर खाने कार्यक्रम गर्न गइरहेको हुनाले उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आवद्ध उदयपुरे सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, मञ्च सल्लाहकारज्यूहरु एवं ४ वटा पालिका र ४ वटा नगरपालिकाका महानुभावहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत मानुभावहरुलाई उपस्थिति भइ मनोरञ्जनका साथमा दर खान उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।’
तीज कार्यक्रममा काठमाडौं तथा उदयपुरका विभिन्न ठाउँबाट दुई देखि पाँच सयभन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्च महिला विभागका संयोजक प्रदिशा घिमिरेले बताउनु भयो।
उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा आएर विभिन्न क्षेत्रमा छरिएर रहेका दिदीबहिनीहरुलाई एकै ठाउँमा जम्मा गराई एकआपसमा रमाइलो साथै भेटघाट तथा तीज कार्यक्रम गर्न लागेको संयोजक घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हिजोआज तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भएकोले यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ।’

राजनीतिक गतिविधिका लागि संगठित भएको मञ्च भए पनि उदयपुर सम्पर्क मञ्चले हरेक वर्ष विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएको मञ्चका अध्यक्ष चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तीज विशेष कार्यक्रम पनि सम्पर्क मञ्चले हरेक वर्ष गर्ने नियमित कार्यक्रम हो।’
नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध पर्व हो। जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ।







प्रतिक्रिया