काठमाडौँ-सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन्।
गत साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएपछि आन्दोलित उनीहरुले भन्सारका सबै सेवा ठप्प पारेका हुन् ।
उनीहरुले सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको आरोप लगाएका छन्। विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको बताइएको छ।
कर्मचारीहरुले आइतबार नै आन्दोलनका कार्याक्रम घोषणा गरेका थिए । साहीअनुरुप उनीहरुले हिजो पेन डाउन गरेका थिए। आजदेखि भने उनीहरुले सेवा नै ठप्प पारेका छन्। कर्मचारीहरुका अनुसार औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन र भोलि पनि सेवा अवरुद्ध हुनेछ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ।
सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।




प्रतिक्रिया