काठमाडौं -नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङ एक मिजासिला राजनीतिकर्मी हुनुहुन्थ्यो । सबैसँग मुसुक्क हाँसेर बोल्ने,कसैलाई कटाक्ष गर्दा पनि नरमभाषामा गर्ने,सकेसम्म सबैको फोन रिसिभ गर्ने उहाँको स्वभाव थियो । उनै नेम्वाङको आज विहान १ बजे हृदयघातबाट निधन भयो । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको राजनीतिका यात्रालाई यसरी सम्झना गरौं ।
सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।
उहाँ२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहुनभयो ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत समेत हुनु भएको थियो । ०७४ को संसदीय निर्वाचनमा इलाम २ बाटै उहाँ निर्वाचित हुनुभएको थियो ।
गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गर्नुभयो ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभएको थियो ।
२०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छ । ।
२०६३ सालको पुनस्थापित प्रतिनिधीसभाको सभामुख बनेपछि लामो समयसम्म उहाँ सोही भूमिकामा रहनुभयो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य हुनुभएको हो । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष निर्वाचित हुनुभयो ।




प्रतिक्रिया