काठमाडौँ–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो ।
उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।






प्रतिक्रिया