काठमाडौं-नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबार। आज यो कार्यालय सुनसान छ। एमाले संसदी दलमा गुल्जार ल्याउने नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो परिसरमा आज सन्नाटा छाएको छ।
नेम्वाङलाई भेट्न नेता, कार्यकर्ता, साँसद, आफन्त प्राय: यही कार्यलयमा आउथे। ‘उहाँको भेटघाटको मूख्य थलो नै सिंहदरबार स्थित दलको कार्यलय थियो ’स्वकीय सचिव कृष्ण काफ्ले भन्नुहुन्छ, ‘उहाँले आफ्नो निवासमा अत्यन्तै कम्ती मात्र भेटघाट गर्नुहुन्थ्यो।’ नेम्वाङ पनि आफूसँग भेट्न चाहनेहरुलाई सहजै भन्नुहुन्थ्यो ‘दिउसो ११ बजेपछि दलको कार्यलय आउनु नि।’ नेम्वाङ प्राय: ११ बजे आफ्नो कार्यकक्षमा आइपुग्नुहुन्थ्यो। २०७२ साल देखि नेम्वाङ एमालेको संसदीय दलको उपनेताको भूमिकामा हुनुहुन्थ्यो। २०७४ मा एमाले र माओवादीको पार्टी एकतापछि पनि उपनेताको जिम्मेवारी नेम्वाङलाई आएको थियो। त्यती मात्र होइन पार्टी विभाजन पछि नेम्वाङलाई यही पदमा निरन्तरता दिइयो। २०७९ को निर्वाचन पछि पनि संसदीय दलको नेतामा सुवासचन्द्र नेम्वाङलाई नै एमालेले निरन्तरता दियो।

दलको ‘स्थायी उपनेता’ जस्ता देखिएका नेम्वाङको जक्सन नै थियो संसदीय दलको कार्यलय। सिंहदरबार भित्र पसेका जो कोही एमाले नेता कार्यकर्ता पनि सुवास दाइलाई भेटेर जाउन भनेर दलको कार्यलयमा छिर्थे। ग्रीन टि खुवांउदै आफ्नो विगत,एमालेको राजनीति,नेताहरुको प्रवृति,विभिन्न एकल भेटमा भएका गुप्त कुराहरु नेम्वाङ रमाइलो गरी सुनाउने गरेको साँसदहरुको अनुभव छ। ‘एमालेका साँसदले कसरी भूमिका निर्वाह गर्ने,कुन विषयमा के बोल्ने भनेर सिकाउने काम नेम्वाङले यही कार्यलयबाट गर्नुहुन्थ्यो’ एमालेका पूर्व साँसद नारदमुनी राना थारु सम्झनुहुन्छ ‘उहाँको निधनको खबर पत्याउनै सकेको छुइन। उही दलको कार्यलय भित्र कुर्सीमा बसेका सुवास दाइ नै झलझली देखिरहेको छु। ’सदा जसो नेपाली पोषाक दौरा सुरुवालमा देखिने सुवास नेम्वाङलाई मृत्यूपछि पनि उही खैरो दौरासुरुवाल र कालोकोट लगाइदिइएको छ।







प्रतिक्रिया