काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गर्नु भएको छ।
अध्यक्ष ओलीले सोमबार वक्तव्य जारी गर्दै इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले शनिवार गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गर्नुभएको हाे।
साथै उहाँले घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गर्नुभएकाे छ।
‘निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ’, ओली भन्नुभयो, ‘नेकपा (एमाले) घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ।’
अध्यक्ष ओलीले ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखी भएको बताउनु भएको छ।
‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दसैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु। हामी सबै शोकमा छौँ । म सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु’, ओली भन्नुहुन्छ, ‘घटनामा परी घाइते हुने हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म फेरि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु।’





प्रतिक्रिया