काठमाडौँ-दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन्। नेपाल आयाल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन्।
तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ।
जसअनुसार कोशी प्रदेश अन्तर्गतको विराटनगर कार्यालय र मधेस प्रदेश स्थित अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ। अरू दिन भने यी दुई डिपो कार्यालयहरू बन्द रहनेछन्।
यस्तै, बागमती प्रादेशिक कार्यालय थानको कात्तिक ४, ६ र ९ गते खुला रहनेछ र बाँकी दिन बन्द रहनेछ।
गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते खुल्नेछ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते खुल्नेछ भने अरू दिन बन्द हुनेछ।
यसै गरी कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते एक दिन मात्र खुल्नेछ भने बाँकी सार्वजनिक बिदाका दिन बन्द रहने निगमले जनाएको छ ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते खुल्नेछ। यसै गरी निगमको इन्धन डिपो, धनुषा कात्तिक ४ र ८ गते, नेपालगञ्ज कात्तिक ५ गते र वीरगन्ज कात्तिक ४ देखि ९ गतेसम्म नै खुला रहने निगमले जनाएको छ।
दसैँ जस्ता चाडपर्वमा सर्वसाधारण उपभोक्ताहरूलाई सहज होस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई नियमित राख्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।






प्रतिक्रिया