अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोला प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना ९ सदस्यीय टोलीसहित अंगोला प्रस्थान


काठमाडौँ-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज अफ्रिकी मुलुक अंगोला प्रस्थान गर्नुभएको छ। ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना अंगोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औँ महासभामा भाग लिन लाग्नुभएकाे हाे।

अध्यक्ष तिमिल्सिनाको टोली आइतबार १ः५५ बजे अंगोलातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। ‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ अंगोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३-२७) सम्म (आईपीयू) को १४७ औँ महासभा हुँदैछ ।

महासभामा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौँदी र जीतेन्द्रनारायण देव छन् भने प्रतिनिधिसभाबाट रुपासोसी चौधरी र सन्तोष परियार रहेका छन् ।

त्यस्तै, संघीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ दुर्गाप्रसाद शर्मा नेपाली प्रतिनिधिमण्डलमा छन् ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डी होस र आयरल्यान्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टमा प्रतिनिधिसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहेका संघीय संसद्का महासचिव गौतमले सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।