दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नचाहिरहेको आरोप लगाउनु भएको छ।
प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो आरोप लगाउनुभएको हो।
महासचिव पोखरेलले शान्ति प्रक्रियालाई गिजोलेर प्रचण्ड त्यसैमा खेल्दै आफूले राजनीति गर्न खोजिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रचण्ड आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नखोजिरहेको हामी देख्छौं। शान्ति प्रक्रिया टुंगोमा पुर्याउँदा आफ्नो राजनीति सकिन्छ भन्ने प्रचण्डलाई लागिरहेको छ।’
नेपाल कम्युनिस्ट पार्टीको सरकार हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन पहल गरे पनि प्रचण्डकै कारण त्यो सफल हुन नसकेको उहाँले बताउनु भयो।
‘केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन के गर्नुपर्छ र त्यसका लागि तपाईंहरू कांग्रेससँग सल्लाह गर्नुहोस्, त्यो टुंग्याउने कुरामा मेरो साथ रहन्छ भन्नुभयो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘तर, उहाँहरूले कुनै तत्परता र उत्सुकता देखाउनुभएन।’
तत्कालीन नेकपाको सरकार हुँदा द्वन्दका सबै विषयलाई टुङ्गो लगाउन खोजेको बताउँदै महासचिव पोखरेलले संक्रमणकाल लम्ब्याउँदै त्यसको फाइदा लिन माओवादीले रणनीति लिएको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक निर्माण गरेर सबै समाधानका लागि एमाले तयार रहेको भन्दै महासचिव पोखरेलले गम्भीर प्रकारका घटनालाई छुट्टै ढङ्गले समाधान गर्नुपर्ने तर्क गर्नुभयो ।
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव पोखरेलले गठबन्धन सरकारले देशलाई उधोगतितिर धकलेको बताउनुभयो । वैधानिक आर्थिक क्रियाकलाप भन्दा सरकारको संरक्षणमा अवैधानिक आर्थिक क्रियाकलापलाई प्रोत्साहन गरेको समेत आरोप लगाउनुभयो ।




प्रतिक्रिया