काठमाडौं-भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जानेभएको छ।
समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिनुभएको थियो ।
सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र रुकुमपश्चिमको स्थलगत अनुगमनमा जाने निर्णय लिनुभएको थियो। सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिइ अनुगमनमा जान निर्देशन दिनुभएको छ।
‘संसदको नियमित अधिवेशनसमेत अन्त्य भएको अवस्था छ, जनताको आवाज संसदमा पुग्ने अवस्था छैन’ सभामुखले खतिवडालाई निर्देशन दिँदै भन्नुभयो, ‘सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापनालगायत विभिन्न गतिविधिमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने कार्यक्षेत्र भएका नाताले तपाईंहरु प्रभावित क्षेत्रमा जानुहोला ।’
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिनुभयो। अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ।
सभापति खतिवडाले जहाज तथा यातायात खर्चसमेत व्यक्तिगत तवरबाटै गर्ने जानकारी दिनुभयो । उहाँले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएका हुन्।




प्रतिक्रिया