काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र वडाध्यक्ष बन्ने इच्छुक उम्मेदवार नभेटिएको भन्दै आफ्नै नेता तथा कार्यकर्तामाथि कटाक्ष गरेका छन्। पार्टीमा तल्लो तहबाट राजनीति गर्नेभन्दा एकैपटक मेयर, प्रदेशसभा सदस्य र ठूला पदमा पुग्ने आकाङ्क्षा राख्नेहरू धेरै भएको दाबी गर्दै सभापति लामिछानेको कटाक्ष गरेका हुन्।
चितवन पुगेका सभापति लामिछानेले एक कार्यक्रममा बोल्दै पार्टीका नेता तथा कार्यकर्ताहरू वडाध्यक्ष बन्न इच्छुक नदेखिएको टिप्पणी गरे। पार्टीभित्र सबैलाई माथिल्लो पदकै रहर छ, तर वडा तहबाट राजनीति सुरु गर्न चाहनेहरू कम देखिएका उनले बताए।
‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है ! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू,’ सभापति लामिछाने भने, ‘अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ।’
वडाध्यक्ष पदका लागि आवेदन दिएको आफूले नदेखेको भन्दै उनले कार्यकर्ताको पदप्रतिको आकाङ्क्षामाथि कटाक्ष गरे। ‘तपाईंहरू त अब धेरै ठूलो हुन थाल्नुभयो,’ सभापति लामिछाने व्यङ्ग्यात्मक शैलीमा भने।
सभापति लामिछाने पार्टीभित्र अवसर र पदको प्रतिस्पर्धा बढ्दै गएको संकेत गर्दै दुई जनालाई एउटै पदमध्ये एकले त्याग गर्नुपर्ने अवस्था आए विवाद हुने टिप्पणीसमेत गरे।
‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्यो भन्नुस् त, हानाहान र मारामार हुन्छ,’ सभापति लामिछाने भने।
आफ्नो त्यागको उदाहरण दिएर मात्रै प्रशंसा नगर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे। ‘नदिनुस् मेरो त्यागको उदाहरण, यदि त्यसलाई अनुशरण गर्ने तपाईंलाई इच्छा छैन भने। चाहिएन मलाई यस्तो झुटो तारिफ,’ लामिछानेले भने।
सभापति लामिछानेले पार्टीमा उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’को विधि अपनाइएको जानकारी दिँदै त्यसबाट उम्मेदवार छनोट प्रक्रिया विधिसम्मत र पारदर्शी हुने दाबी गरे।
सभापति लामिछानेको अभिव्यक्तिले रास्वपाभित्र तल्लो तहबाट नेतृत्व विकास गर्नेभन्दा माथिल्लो पदमा पुग्ने आकाङ्क्षा बढी रहेको विषयलाई सार्वजनिक बहसमा ल्याएको छ।



प्रतिक्रिया