अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन सरकार पनि पश्चिमी शक्तिको स्वार्थअनुसार चल्न नसके संकटमा पर्न सक्छ: एमाले उपाध्यक्ष थापा

बालेन सरकार पनि पश्चिमी शक्तिको स्वार्थअनुसार चल्न नसके संकटमा पर्न सक्छ: एमाले उपाध्यक्ष थापा


दमक-नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूले नै विघटन गराउने दाबी गरेका छन्।

आज नेकपा (एमाले) दमक नगर कमिटीले आयोजना गरेको पार्टी कार्यालय निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने दाताहरूको सम्मान र दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन्।

उपाध्यक्ष थापाले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीसहितका राजनीतिक दलहरूले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा नगरेपछि ती दलका पार्टी कार्यालय तथा नेता-कार्यकर्ताका घर र भवनमा आगजनी तथा तोडफोड गरी ध्वस्त पारिएको दाबी गरे।

उपाध्यक्ष थापाले सद्दाम हुसेन र ओसामा बिन लादेनको उदाहरण दिँदै पश्चिमी शक्तिहरूले आफूअनुकूल व्यक्तिलाई सहयोग गर्ने र पछि आफ्ना लागि बाधक बनेपछि समाप्त पार्ने गरेको आरोप लगाए। उनले यही प्रवृत्ति बालेन नेतृत्वको सरकारको हकमा पनि दोहोरिन सक्ने बताए।

एमाले दमक नगर कमिटीका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी कार्यालय स्थापनाका लागि सहयोग गर्ने दाता तथा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने दाता, नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा दमक-९ स्थित पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दीपा दाहाल बराललाई प्रमुख अतिथि थापाले सम्मान गरे।

कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनर्निर्माण समितिका संयोजक अम्बिका खनालले पार्टी कार्यालयको पुनर्निर्माणबारे जानकारी गराएका थिए।