बितामोड-झापाको बिर्तामोड नगरपालिकामा निर्माणधिन बुट्टाबारी-प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको छ।
बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहितको टोलीले सोमवार सडकको निर्माण प्रगति अनुगमन गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म ६ प्रतिशत पुरा भइसकेको छ। शिलान्यास भएपछि वर्खायाम बाहेक उक्त परिमाणमा काम भएको हो। अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ।
न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिनुभयो। वडा-६,७ र ८ मा पर्ने सडक ६.२ किलोमिटरको हुनेछ । ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ (भ्याट र पीएस समेत) लागतमा ठेक्का सम्झौता भएको सडक ०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ।
विश्व बैंकको लगानीमा ग्लोवल टेण्डर मार्फत ठेक्का पाएको आरपी-साप-समता जेभीले कामलाई धमाधम अघि बढाएको जनाएको छ। अन्तराष्ट्रिय स्तरको सो कालोपत्रे सडकमा दुवैपट्टि सडकबत्ती, गार्डेन र फुटपाथ रहने छ। सडकखण्डमा ६२९ वडा सडक बत्ती राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवासमेत रोपिने छ। सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन्।
नगर उपप्रमुख संग्रौलाले सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले निर्माण व्यावसायीलाई कामलाई थप तीब्र बनाउन आग्रह गर्नुभयो। उहाँले सडक निर्माणले सो क्षेत्रको जीवनलाई माथि उठाउन सहयोग गर्ने बताउनुभयो।
स्थानीयबासीले सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणको क्रममा हुने संरचनागत अवरोधहरु समेत हटाएर सहयोग गरिरहेको निर्माण पक्षको भनाई छ। उक्त सडकको नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले गत जेठ २ गते शिलान्यास गर्नु भएको थियो।
तस्वीरहरू










प्रतिक्रिया