अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकढिक्का

समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकढिक्का


काठमाडौँ-सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सहमति एवं शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले राससलाई जानकारी दिनुभयो।

विगत केही दिनदेखि निरन्तररूपमा सामाजिक सञ्जालबाट भइरहेका गलत प्रचारप्रसारलाई नियन्त्रण एवं नियमन गर्दै लोकतान्त्रिक अधिकार सुरक्षित गर्ने विषयमा पनि राजनीतिक दलहरू सहमत भएका उपाध्यक्ष भुसालले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतन्त्रप्रति सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सबै दलहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका नेताको सहभागिता रहेको थियो ।