अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चरन क्षेत्र नहुँदा चौँरी पालनमा समस्या

चरन क्षेत्र नहुँदा चौँरी पालनमा समस्या


रामेछाप-रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ। चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पुस्तौं चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन्। 

यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो। पछिल्लो समय चौँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरीपालक किसानको वृद्धि भएको स्थानीय बताउँछन्।

चौँरीपालनबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानले पनि चौँरी पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताउनुभयो। शैलुङ क्षेत्र उच्च लेकाली भू–भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौँरीपालन तर्फ आर्कषित भएका उहाँको भनाइ थियो।

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन्। 'वर्षादको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ। तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ, योञ्जनले 'भन्नुभयो, 'हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ।'

चौँरीपालक किसानले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उहाँले बताउनुभयो। हाल किसानले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर चौँरी चराउने गरेका छन्।

चौँरीपालक किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा–१ राजभिरका फर्वा शेपाले गुनासो गर्नुभयो। विगत वर्षमा शैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उहाँको भनाइ थियो।

पछिल्लो समयमा चौँरीपालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताउनुभयो।   

समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके शैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो। स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरु बताउँछन्।

Skip This