रुकुमपश्चिम-भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ। जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासनमार्फत प्रालिले खाद्यन्न सहयोग गरेको हो।
प्रालिले जिल्लामा एक हजार ६८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभटेनी सुपर मार्केट स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार खाद्यन्नबापत रुकुमपश्चिममा आएको चामल रू.३५ लाख बराबरको हो।
पहिलो चरणमा प्रालिले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रू.एक करोड ११ लाख एक हजार एक सय एघार सहयोग गरिसकेको छ। प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिनुभयो।
रुकुमपश्चिममा वितरण सकिएलगत्तै जाजरकोटमा पनि राहत सामग्रीअन्तर्गत चामल वितरण गर्ने कार्यक्रम रहेको छ। जाजरकोटका लागि पनि रू.३५ लाख बराबरको खाद्यन्न सामग्री वितरण गरिने उहाँको भनाइ थियो।
आवश्यक परेमा थप राहत सामग्री भूकम्पपीडितलाई उपलब्ध गराइने प्रालिले जनाएको छ। प्रालिले उपलब्ध गरेको चामल जिल्ला प्रशासनमार्फत सानीभेरी गाउँपालिमा पुगिसकेकाले छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो।






प्रतिक्रिया