अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने


बैतडी-नेकपा (एमाले)ले मङ्सिर १४ गते सुरु गर्ने मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’को तयारी पूरा भएको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म पदयात्राको तयारी पूरा भएको जनाएको हो।

एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो।

उहाँका अनुसार सोही कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनगढी आइसक्नु भएछ। अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू आजै धनगढी आइपुग्नु भएको छ। यस्तै गरेर उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू भोलि बिहान धनगढी आउँदै हुनुहुन्छ।

एमालेका नेताहरु १४ गते बिहान ८ः३० बजे हुने पदयात्राको उद्घाटनका लागि भोलि नै धनगढीबाट बैतडी जाँदै हुनुहुन्छ।  अध्यक्ष ओलीले नेपालको झण्डा झण्डोत्तोलन गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसैगरी बैतडीको खोड्पेमा सन्देश सभा आयोजना गरिने छ। 

टोलीले डडेल्धुराको उग्रतारा दर्शन गर्ने, १५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देश सभा गर्ने, डोटीको दिपायल र सिलगढीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यतालिका रहेको छ। 

१६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यतालिका रहेको छ। १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्षसहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ। 

झुलाघाटदेखि अछामको बेलखेतसम्म सुदूरपश्चिम प्रदेशको ३५८ किलोमिटर छिचोल्ने र सो अभियानमा २५० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने बताइएको छ। 

एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले सो अभियानका क्रममा सुदूरपश्चिममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने बताउनुभयो। १९ दिनमा सङ्कल्प यात्राको पुस ५ गते सन्देश प्रवाह गर्ने गरेर काठमाडौंमा समापन हुने बताइएको छ। बैतडीबाट सुरु हुने कार्यक्रम पाँचथरको चिभञ्याङसम्म पुग्नेछ।