काठमाडौं-प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्। सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका हेरफेर गर्ने क्रममा खनालको नाम हटाइएको हो।
पारिवारिक विवाद तथा पासपोर्ट ठेक्का प्रकरणलगायतका विवादमा मुछिएका खनाल पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयको कामकाजमा समेत संलग्न नरहेको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत खनालको जिम्मेवारी अब विशाल अधिकारीलाई दिइएको छ। अधिकारीलाई सहसचिवसरहको सचिवालय सदस्य बनाउँदै संयोजकको जिम्मेवारी दिइएको बताइएको छ।
पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूसँग सोधपुछ भएका बेला खनालको नाम पनि जोडिएको थियो। उक्त घटनापछि नै उनलाई सचिवालयको जिम्मेवारीबाट अलग गरिएको बताइए पनि त्यसबेला प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले उक्त समाचारको खण्डन गरेका थिए।
त्यसयता सचिवालयको कामकाजमा सक्रिय नरहेका खनालको नाम अहिले औपचारिक रूपमा जिम्मेवारी हेरफेरको सूचीबाट हटाइएको हो। यससँगै सरकारी मामिला तथा योजना समन्वय विज्ञको पदलाई परिवर्तन गरी संयोजकको जिम्मेवारी अधिकारीलाई दिइएको छ।



प्रतिक्रिया