अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको ध्यान मानवअधिकार संरक्षणमा होइन सत्ता लुछाचुँडीमा: अष्टलक्ष्मी शाक्य

सरकारको ध्यान मानवअधिकार संरक्षणमा होइन सत्ता लुछाचुँडीमा: अष्टलक्ष्मी शाक्य


काठमाडौं -नेकपा एमाले उपाध्यक्ष एवं वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्तमान सत्ता गठबन्धन मानवअधिकारको विषयमा संवेदनशील नभएको बताउनुभएको छ।

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको दोस्रो सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च वाग्मती प्रदेशको प्रथम सभालाई काठमाडौंमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले गठबन्धन सरकारको ध्यान मानवअधिकारको रक्षामा भन्दा सत्ता लुछाचुँडीमा नै केन्द्रित भएको बताउनुभयो। ‘सरकारको मानवअधिकार विरोधी गतिविधिको विरुद्ध खबरदारी गर्न जरुरी छ’, उहाँले भन्नुभयो।

नेपाली जनताको बलिदानबाट प्राप्त संघीय गणतन्त्रमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुनु दुखद भएको शाक्यले बताउनुभयो। यसका विरुद्ध मानवअधिकारकर्मी र सामाजिक अभियन्ताले नागरिक आन्दोलनलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको शाक्यले बताउनुभयो।

कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको भए पनि कार्यान्वयनको पक्ष फितलो रहेको बताउनुभयो। यसले नेपालका राजनीतिक दल र सरकारप्रति जनताको विश्वास घट्दै गएको ढकालले बताउनुभयो। मानव अधिकारको विषयमा नेकपा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो ।


मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको सवाल विश्वमा नै चुनौती पूर्ण हुँदै गएको बताउनुभयो । अधिकार सवालमा संगठित भएर लाग्नु पर्ने उहाँको भनाइ छ।

नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सरकार मानवअधिकार विरोधी भएको बताउनुभयो। सरकाले रोजगारीको लागि विदेश जाने परीक्षा दिन पाउँ भन्ने युवालाई गोली ठोकेर मारेको ढुङ्गेलको भनाइ छ। त्यति मात्र होइन अपराधीलाई कैद माफी दिएर सरकारले मानवअधिकारको खिल्ली उडाउने काम गरेको उहाँले बताउनुभयो ।

सभामा वातावरणविद् उगान मानन्धरले वातावरणीय अधिकार मानवअधिकारको अभिन्न अङ्ग भएको बताउनुभयो उहाँले जलवायु न्याय र नेपालले विश्व मञ्च उठाउनु पर्ने मुद्दाका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, वाग्मती प्रदेश सदस्य तथा एलाइन्स इञ्चार्ज डा।जानुका न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ।

सभाले आगामी चैत्र महिनाभित्र वाग्मतीका सबै पालिकामा मानवअधिकार एलाइन्सको कमिटी गठन गर्ने, मानवअधिकारका सवालमा निरन्तर जनचेतना जगाउने, जनसरोकार र सामाजिक मुद्दामा आवाज उठाउने लगायतका निर्णयहरू गरेको एलाइन्सका वाग्मती प्रदेश अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सभाले मानव अधिकार र समसामयिक विषयमा १५ बुँदे काठमाडौं घोषणा–पत्र जारी गरेको छ । भेलामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका मानवअधिकार एलाइन्सका सदस्यहरू र मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।