काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा नेपालको विकासको रेखा कोर्ने काम गर्नुभएको बताउनुभएको छ।
आज काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले केपी ओली राष्ट्र निर्माण र विकासको नायक भएको बताउनुभयो। ‘उहाँ राष्ट्रलाई नेतृत्व गर्ने नायकका रूपमा स्थापित हुनुभयो’, पोखरेलले भन्नुभयो।
एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिकिने पोखरेलले बताउनुभयो। केपी ओली नेताबाट नेताको नेता बन्नुभएको बताउनुभयो। नेपालको लोकतन्त्र कस्ता कस्ता घटनाबाट गुज्रियो भन्ने कुरा केपी ओलीको अभिव्यक्ति र जीवनीबाट बुझिने पोखरेलले बताउनुभयो । सर्वसत्तावाद विरुद्धको संघर्षमा खरो रूपमा उत्रिएको कारण केपी ओली नेताको नेता बन्नुभएको पोखरेलले टिप्पणी गर्नुभयो ।
ओलीले कानुनी राज्य, मानवअधिकार, सुशासन र शान्ति सुरक्षाको पक्षमा दिएको अभिव्यक्तिले नेपालको लोकतन्त्रलाई कसरी अघि बढाउने भन्ने बाटो देखाएको पोखरेलले बताउनुभयो। सरकारको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्दछ भन्ने कुरा उहाँले संसद्मा स्पष्ट रूपमा राख्ने गरिएको पोखरेलले बताउनुभयो। ‘आफूले लिएको जिम्मेवारी पालनमा अति इमान्दार देखिनुभएको छ’, उहाँले भन्नुभयो।

सङ्क्रमणकालीन न्यायको सन्दर्भमा पनि ओली आफ्नो अडानमा स्पष्ट रहनुभएको पोखरेले बताउनुभयो। ओली हरेक दृष्टिकोणमा स्पष्ट नेता रहेको उहाँको टिप्पणी छ।
लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराउनुभएको पोखरेलले स्मरण गराउनुभयो। देशको मिचिएको भूमिको रक्षा तथा परराष्ट्र नीतिमा ओली स्पष्ट हुनुभएको पोखरेलको भनाइ छ।
नेपालको राजनीतिमा माओवादीलाई कसरी हेर्ने र सो विषयमा कस्तो धारणा बनाउने भन्ने विषयमा ओलीले राष्ट्रकै नेतृत्व गर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो। माओवादीलाई हिंसाको राजनीतिबाट रूपान्तरण प्रक्रियामा ल्याउने काममा ओलीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो । तर अहिले पनि माओवादी रूपान्तरण नभएको बताउँदै पोखरेलले त्यो उहाँहरूको कमजोरी रहेको टिप्पणी गर्नुभयो।
नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्धको लडाइँमा पनि केपी ओली खरो रूपमा उत्रिनु भएको पोखरेलले बताउनुभयो। हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने मूल मन्त्रका साथ केपी ओली देशलाई जोड्ने काम गर्नुभएको पोखरेलले बताउनुभयो।
एमालले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्राले देशमा अस्थिरता मच्चाउने, धार्मिक, सामाजिक र सांस्कृतिक विभाजन गर्न खोज्नेलाई पाखा लगाएको उहाँले बताउनुभयो । केपी ओलीको बोली र व्यवहारले सो कुरालाई पुष्टि गरेको पोखरेलको भनाइ छ।




प्रतिक्रिया