अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल पार्टी प्रमुख र प्रधानमन्त्री हुँदा पनि रौतहटको अवस्था बदलिएन : महासचिव शंकर पोखरेल

माधव नेपाल पार्टी प्रमुख र प्रधानमन्त्री हुँदा पनि रौतहटको अवस्था बदलिएन : महासचिव शंकर पोखरेल



काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले मधेस निर्माणको योजना अघि सारेको बताउनुभयो ।
आफूलाई मधेसका मसिया हौँ भनेर गफ दिनेहरूले मधेसका जनताको हितमा काम नगरेको पोखरेलले बताउनुभयो । उनीहरूले मधेसका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेका पोखरेलको भनाई छ ।
तराईमा बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउन सुनकोसी मरिण डाइभर्सन आयोजना केपी ओलीले सुरु गर्नुभएको उहाँले स्मरण गराउनुभयो । त्यस्तै पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको काम पनि नेकपा एमाले नेतृत्वको सरकारले नै गरेको पोखरेलले बताउनुभयो । ‘एमाले नभएको भए कसैले सुनकोसी मरिण डाइभर्सनको योजना बनाउन सक्थ्यो ?’ पोखरेलले प्रश्न गर्नुभयो ।
जसले जनताको भाग्य निर्माण गर्न सक्छ त्यो नै मधेसको मसिहा हुने उहाँले बताउनुभयो । ‘एमालेले हुलाकी सडक बनायो, जसले मधेसका सदरमुकामको रूप(रङ बदल्यो, सुनकोसी–मरिण डाइभर्सन आयोजना अगाडि बढायो’, उहाँले भन्नुभयो ।
पोखरेलले देश विकासका लागि केपी शर्मा ओली नै चाहिन्छ भन्ने कुरा पुष्टि भइसकेको बताउनुभयो । एमाले र केपी ओली सरकारको नेतृत्वमा नहुँदा देश विकासको काम ठप्प भएको उहाँको भनाइ छ ।
पोखरेलले माधव नेपालले कैयौँ पटक जिते पनि रौतहट र मधेसको विकासमा ध्यान नदिइएको बताउनुभयो । ‘माधव नेपाललाई हामीले पार्टीको प्रमुख बनायौँ, पटक पटक सरकारमा पठायौँ, उपप्रधानमन्त्री, प्रधानमन्त्री, पार्टी सरकारमा जाँदा हर्ताकर्ता भए पनि रौतहटको अवस्था बदलिएन, रौतहटको, मधेसको अवस्था बदल्नका लागि यो पार्टीमा केपी ओलीको नेतृत्व चाहिने रहेछ भन्ने तपाईँहरूले अनुभूत गर्नुभएको छ, केपी ओली सरकारमा आएपछि मधेस बदलियो’, महासचिव पोखरेलले भन्नुभयो ।
प्रधानमन्त्री बनेपछि भारतले भ्रमणको निम्तो दिएको बेला केपी ओलीले जनता नाकाबन्दीका कारण पीडामा भएका बेला म भारत आउँदिन भनेर भन्नुभएको महासचिव पोखरेलले स्मरण गर्नुभयो । केपी ओलीको अडानकै कारण नाकाबन्दी अन्त्य भएको उहाँले बताउनुभयो । यदि त्यस बेला अरू कोही भएको भए नाकाबन्दी विरुद्ध खडा हुनै नसक्ने समेत महासचिव पोखरेलले बताउनुभयो ।
भारत भ्रमणका क्रममा मोदीले एक मिनेटमा सडक बन्ने लगायत कुरा सुनाउँदा त्यसको जवाफमा ओलीले त्यसो भए नेपालमा भारतका लगानीका हुलाकी राजमार्ग लगायत आयोजना किन समयमै सम्पन्न हुँदैनन् भन्ने प्रश्न उठाउनुभएको उहाँले बताउनुभयो । केपी ओलीकै पहलमा हुलाकी राजमार्ग अगाडि बढाउने काम भएको महासचिव पोखरेलले स्मरण गर्नुभयो ।