अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका जनप्रतिनिधीको काममा पार्टीको अनुहार झल्किनु पर्दछ : अग्नी खरेल

एमालेका जनप्रतिनिधीको काममा पार्टीको अनुहार झल्किनु पर्दछ : अग्नी खरेल



झापा – नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरुसँग आज बिर्तामोडमा परामर्श बैठक गरेको छ ।
पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा परामर्श बैठक भएको हो ।
बैठकमा मूलतः नेकपा एमाले झापाको वर्तमान अवस्था, नेता नेतृत्वका जिम्मेवारीहरु, तिनको कार्यान्वयनको अवस्था, कार्यकर्ताले नेतृत्वप्रति गरेका अपेक्षा तथा आलोचनाहरुका विषयमा मसिनो गरी प्रस्तुत गरिएको थियो । निर्वाचनमा जनताका प्रतिनिधिहरु बनाएर पठाएका पार्टीका नेता कार्यकर्ताहरुको कार्यशैलीका बारेमा धेरै टिप्पणीहरु उठेका थिए ।
बैठकमा झापा जिल्ला कमिटी र सो मातहतका कमिटीलाई बढीभन्दा बढी सक्रिय बनाउन कस्तो योजनाहरु बनाउनु पर्छ र पार्टीलाई जनताको मनमा कसरी बसाइरहन सक्ने बनाउन सकिन्छ भन्ने सन्दर्भमा वक्ताहरु केन्द्रित थिए ।
पार्टीका कार्यकर्ताहरुलाई चुनावमा उम्मेदवार बनाएर जिताए पछि सम्बन्धित कमिटीहरुको कुरा नसुन्ने प्रवृत्ति हावी भएकोमा जनप्रतिनिधिहरुको खुलेर आलोचना भयो । पार्टीको लगामभन्दा माथि जनप्रतिनिधि रहँदा मतदाताले अपनत्व महसुस गर्न नसकेको विषयलाई परामर्शमा समेटिएको थियो ।


सचिव शिव ढुंगेलले सञ्चालन गरेको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु र प्रदेश कमिटीका सदस्यहरुलाई उनीहरुको परिभाषित क्षेत्रको जिम्मेवारीका विषयमा परामर्श मागिएको थियो । केन्द्रीय आयोग, विभाग, सल्लाहकार एवम् प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरुले खुल्ला सत्रमा पार्टी कामको समीक्षात्मक धारणा राखेका थिए ।
बैठकमा प्रमुख अतिथि खरेलले आफ्नो कार्यशैलीको आत्मआलोचना गर्न सकियो भनेमात्र पार्टीको परिभाषित भूमिका निर्वाह गर्न सकिने अथ्र्याउँदै यो बैठक सार्थक बनेको बताए ।
‘अरु राजनीतिक दलहरुभन्दा हाम्रा अभियानहरु जनतासँग प्रत्यक्ष जोडिएका छन् । तर हाम्रा कामहरु चाहिँ जनपक्षीय छन् कि छैनन् तिनको समीक्षा गर्न ढिलाई गर्न हुदैन ’ नेता खरेलले भन्नुभयो ‘मानिसलाई गोलबन्द गर्नका लागि कुनै इश्यु महत्वपूर्ण हुनेमा हामी त्यसो गरिरहेका छौं या छैनौं ? पार्टीले जिताएर पठाएका जनप्रतिनिधिहरुले गर्ने काम पनि पार्टीको चिनारी हो भन्ने कुरालाई हामीले बिर्सियौं कि !’
समाजलाई माथि उठाउने हो भने हाम्रो समुदायका अल्पसंख्यक जाति र समुदायको उन्नतिका लागि काम गर्नुपर्छ सम्मानजनक बाँच्ने आधार सिर्जना गरिदिनु पर्छ भन्ने कुराले समाजवादको यात्रा तय गर्ने उहाँको भनाई थियो ।
बैठकमा सहभागी पार्टी नेतृत्वहरुको सुझाव ग्रहण पछि मन्तव्य राख्दै कार्यवाहक अध्यक्ष गिरीले चालू जिल्ला कमिटीको बाँकी अवधिबाटै यसको कार्यान्वयनका लागि काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी सचिवालय बैठक एवम् जिल्ला कमिटीको बैठकमा यी सुझावहरु व्यवहारिकरुपमा कार्यान्वयन गर्न सुरु गरिने उहाँले विश्वस दिलाउनुभयो ।
‘अघिल्लो नेतृत्वले दिएको विरासतलाई उचाईमा लैजानु मेरो कर्तव्य हुनेछ तर कमजोर बनाउने छुट हामीलाई छैन’ गिरीले भन्नुभयो ‘ वैचारिक रुपमा कार्यकर्तालाई बलियो बनाउने दायित्व नेतृत्वको हो । त्यसका लागि जिल्ला कमिटी सक्रियतापूर्वक लाग्दछ । ’ आगामी जेठभित्रमा जिल्ला, नगर र वडा अधिवेशनहरु सम्पन्न गर्ने उहाँको भनाइ छ ।