अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, १६५ जनाभन्दा बढी घाइते 

केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, १६५ जनाभन्दा बढी घाइते 


नैरवी- केन्यामा ग्याँस स्टेशनमा विस्फोट हुँदा १६५ जना भन्दा बढी घाइते भएका छन् । सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन् ।

मवाउराले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेशनमा आगलागी भएको बताए । तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विष्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन् ।

‘कम्पनीले ग्याँस सिलिण्डर रिफिल गरिरहेको बेला एक्कासी आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको छ,’ मवाराले भने । तर, अहिलेसम्म कुनै हताहतको पुष्टि भई नसकेको केन्याका मिडियाहरूले जनाएका छन् ।

‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भनेका छन् । नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गरेका छन् ।

घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुर्‍याएका छन् । पीडितलाई उद्धार गर्न घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका तस्बिरले उनीहरुको शरीर जलेको देखाएको छ ।- एजेन्सी