अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा चक्रवात ‘अर्नब’को प्रभाव : पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा

भारतमा चक्रवात ‘अर्नब’को प्रभाव : पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा


काठमाडौँ-बंगालको खाडीबाट उत्पन्न चक्रवात अर्नबका कारण भारतमा अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। भारतीय अनलाइन सञ्चारमाध्यम दैनिक भास्करका अनुसार चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसामा पाँच जनाको ज्यान गएको हो।

चक्रवातको प्रभाव भारतका विभिन्न राज्यमा देखिएको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेशसहित १५ राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। वर्षा आगामी दुई दिनसम्म जारी रहने अनुमान गरिएको छ।

मध्य प्रदेशका सतना, कटनी र छतरपुरलगायत जिल्लामा बुधबार वर्षा भएको थियो। राजस्थानको भरतपुर र कोटा डिभिजनका केही क्षेत्रमा पनि वर्षा भएको छ। मौसममा आएको परिवर्तनसँगै जयपुर, पिलानी, सिकर, बारमेर र चुरुलगायत सहरको तापक्रम दुई डिग्री सेल्सियससम्म घटेको छ। सिकरमा रातिको तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ।

चक्रवातको प्रभावका कारण छत्तीसगढका १२ जिल्लामा बिहीबार विद्यालय बन्द गर्न आदेश दिइएको छ। ओडिसाका १६ जिल्लामा पनि विद्यालय बन्द गरिएका छन्। ओडिसामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चक्रवात अर्नब मंगलबार बिहान करिब ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको बताइएको छ। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको थियो।