अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकार विकास विरोधी भएको एमाले उपाध्यक्ष पौडेलको आरोप 

गठबन्धन सरकार विकास विरोधी भएको एमाले उपाध्यक्ष पौडेलको आरोप 


रुपन्देही-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार विकासविरोधी रहेको आरोप लगाउनु भएको छ।

एमाले निकट राष्ट्रिय युवा संंघ रुपन्देही प्रचार विभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृति फुटसल प्रतियोगिता उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो।

उपाध्यक्ष पौडेलले सरकारको ज्यादती र विकासविरोधी नीति हटाउन युवाहरुले सडकबाट दबाब दिनुपर्ने बताउनु भयो ।गठबन्धन सरकारले युवा र जनताका आवश्यकता पूरा गर्नुको सट्टा विकास विरोधी गतिविधि गरेको उहाँले आरोप लगाउनु भयो।

उहाँले अहिले देशको परिस्थिति झन्झन् जटिल अवस्थामा पुगेको बताउनुभयो।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘दैनिक रुपमा युवाहरु विदेश पलायन हुने अवस्था सृजना भएको छ। सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने अवस्था आएको हो। युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न युवाहरुले सडकबाट सरकारलाई दबाब दिनुपर्छ। युवाहरुले खेलकुद, उद्योग, व्यवसाय, रोजगारीलगायतका क्षेत्रमा आफ्नो सक्षमता देखाउनुपर्छ।’

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरुले राजनीतिमा मात्र नभई खेलकुदमा पनि समय व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

स्व. परमानन्द खरेलका छोरा किरणले खेलको माध्यमबाट युवा संघले बुवाको योगदानको जीवन्त बनाउने काम गरेकोमा आभार व्यक्त गर्नुभयो।