काठमाडौँ– पाल्पामा हिजो साँझ भएको जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा ‘ओभरलोड’ रहेको छ ।
तिनाउ गाउँपालिका वडा नं ६, चिदिसको लुम्पेकडाँडामा हिजो साँझ भएको मुस्ताङ जीप दुर्घटनाको मुख्य कारण उकालो कच्ची सडकमा ‘ओभरलोड’ थेग्न नसक्नु रहेको छ ।
उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १६ जना यात्रु घाइते हुनुभएको छ । १३ सिट क्षमताको जीपमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आठ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार ‘ओभरलोड’ले दुर्घटना भएको हो । उहाँले पहाडको बाटो उकालो र अफ्ड्यारो भएपनि गाडीका कारण नै दुर्घटना भएको बताउनुभयो । ‘ओभरलोड’ ले दुर्घटना निम्त्याएको उहाँले बताउनुभयो ।
दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।
यस्तै तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
जीप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया