अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पा जीप दुर्घटना : तिनाउँ गाउँपालिकामा आज शोक बिदा

पाल्पा जीप दुर्घटना : तिनाउँ गाउँपालिकामा आज शोक बिदा

प्रतिमृतक परिवारलाई ३५ हजार राहत दिइने


काठमाडौँ– पाल्पामा हिजो साँझ भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तिनाउ गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप हिजो साँझ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । 

आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

१० जनाको मृत्यु हुने गरी भएको उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज शोक बिदा दिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाले प्रतिमृतक परिवारलाई जनही ३५ हजार राहत दिने उहाँले बताउनुभयो । उहाँका अनुसार तिनाउँ गाउँपालिकाभित्रका मृतक परिवारलाई मात्रै राहत दिइने छ । 

जीप दुर्घटनाको मुख्य कारण कच्ची उकालो घुम्ती बाटोमा ‘ओभरलोड’ रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उकालो र अफ्ठ्यारो बाटोमा  ‘ओभरलोड’ ले दुर्घटना निम्त्याएको उहाँले बताउनुभयो ।  

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका  ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् । 

यस्तै तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।